११ फाल्गुण, काठमाडौँ । धादिङको बेनीघाट रोराङमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा परी १९ जनाको ज्यान गएपछि सरकारले यसको गम्भीर छानबिन गर्ने प्रक्रिया अघि बढाएको छ ।
गृह मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले त्रिशूली नदी किनारमा बस खस्नुको वास्तविक कारण पत्ता लगाउन एक उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । ठूलो संख्यामा मानवीय क्षति भएको यस घटनाले सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएका कारण सरकारले सरोकारवाला निकायहरूसँगको छलफलपछि छानबिनको बाटो रोजेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उक्त बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र यातायात व्यवसायी महासङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकले दुर्घटनाको प्राविधिक र मानवीय पक्षबारे सुक्ष्म अध्ययन गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार समिति गठन गर्ने सैद्धान्तिक निर्णय भइसकेको भए तापनि समितिको नेतृत्व कसले गर्ने र कति सदस्यीय हुने भन्ने विषयमा केही समयभित्रै विस्तृत टुङ्गो लाग्नेछ ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस भैंसेगौडा भन्ने स्थानबाट अनियन्त्रित भई झण्डै २०० मिटर तल खसेको थियो । पछिल्लो समय सडक दुर्घटनाको दर बढ्दै गएको र नागरिकको जीवन जोखिममा परेको भन्दै गृह मन्त्रालयले यसपटकको छानबिनलाई केवल औपचारिकतामा मात्र सीमित नराखी कार्यान्वयनयोग्य सुझाव ल्याउन समितिलाई निर्देशन दिने तयारी गरेको छ। समितिको प्रतिवेदन आएपछि मात्रै दुर्घटनामा सडकको इन्जिनियरिङ, सवारीको अवस्था वा चालकको कमजोरीमध्ये कुन पक्ष मुख्य जिम्मेवार थियो भन्ने प्रस्ट हुनेछ ।

















