Logo

१८ फाल्गुण, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रचारप्रसारको समयसीमा र आचारसंहिताको पालनाबारे कडा निर्देशन जारी गरेको छ ।

आयोगका अनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन ४ गतेदेखि सुरु गरेको चुनावी प्रचारप्रसारको अभियान फागुन १८ गते राति १२ बजेसम्म मात्र सञ्चालन गर्न पाउनेछन् । तोकिएको उक्त समयसीमा सकिएपछि मौन अवधि सुरु हुने भएकाले त्यसपछि कुनै पनि माध्यमबाट मत माग्न वा प्रचार गर्न पाइने छैन ।

निर्वाचनको सरगर्मी बढ्दै जाँदा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू नै दल र उम्मेदवारको पक्षमा खुलेर लागेको गुनासो आएपछि आयोगले विशेष सतर्कता अपनाएको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका जनप्रतिनिधिहरू आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु आचारसंहिताको गम्भीर उल्लंघन हुने स्पष्ट पार्नुभएको छ । निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) को देहाय ४ मा जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र प्रचारप्रसारमा संलग्न हुन नहुने स्पष्ट व्यवस्था रहेकाले सोविपरीत कार्य नगर्न आयोगले सचेत गराएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि आचारसंहिताको कडाइका साथ पालना गर्न सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ । यदि कुनै जनप्रतिनिधि वा उम्मेदवारले आचारसंहिताको उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । फागुन २१ को मतदानलाई निष्पक्ष तवरले सम्पन्न गर्न आयोगले आफ्नो कार्यतालिका बमोजिमका गतिविधिहरूलाई तीव्रता दिँदै सुरक्षा र अनुगमन संयन्त्रलाई समेत सक्रिय बनाएको छ ।


सम्बन्धित समाचार