११ फाल्गुण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा बुथ कब्जा गर्ने सोच राख्नेहरूलाई कडा चेतावनी दिनुभएको छ ।
सोमबार झापा निर्वाचन क्षेत्र ननम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अबको निर्वाचनमा कसैले पनि धाँधली गर्ने वा मतदान केन्द्र कब्जा गर्ने कुचेष्टा गरे त्यो सफल नहुने उद्घोष गर्नुभएको हो । मतदाताले कुनै पनि डर र त्रासविना आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने लोकतान्त्रिक हकको रक्षाका लागि एमाले सधैँ अडिग रहने उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आयोग र सुरक्षा निकायको मात्र नभई राजनीतिक दलहरूको पनि उत्तिकै दायित्व रहने औँल्याउनुभयो । ‘मतदाताले स्वतन्त्र ढंगले मतदान केन्द्रसम्म पुग्न र आफ्नो इच्छा अनुसारको उम्मेदवारलाई भोट खसाउन पाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यदि कसैले अझै पनि पुरानै शैलीमा बुथ कब्जा गर्ने कल्पना गरिरहेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ।’ उहाँले बुथ कब्जा गर्ने कार्यलाई लोकतन्त्रको उपहास भन्दै त्यस्ता उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कुनै पनि हालतमा छुट नदिइने र कसैले पनि त्यसो गर्न नसक्ने दाबी गर्नुभयो।
आफ्नो गृहजिल्लाको चुनावी माहोललाई सम्बोधन गर्दै ओलीले कार्यकर्ताहरूलाई पनि सचेत रहन र मतदाताको सुरक्षामा ध्यान दिन निर्देशन दिनुभएको छ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न समूहहरूले शान्ति भंग गर्न सक्ने तर्फ संकेत गर्दै उहाँले जनताको बलबाटै निर्वाचनलाई मर्यादित बनाइने बताउनुभयो । नेकपा एमाले सधैँ निर्वाचनको निष्पक्षताको पक्षमा रहेको भन्दै उहाँले आगामी फागुन २१ गते हुने मतदानमा निर्धक्क भएर सहभागी हुन सबै मतदाताहरूलाई अपिल समेत गर्नुभएको छ ।

















