११ फागुन,वीरगञ्ज । वीरगञ्जमा दुई फरक धार्मिक समुदायबीच उत्पन्न तनाव समाधानका लागि सर्वपक्षीय बैठकबाट तीन बुँदे सहमति गरिएको छ। आइतबार साँझ श्रीपुरमा भएको घटनापछि बढेको असहज अवस्था सामान्य बनाउन सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको हो।
सद्भाव समितिको पहलमा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा हिन्दु–मुस्लिम समुदायका अगुवाहरू सहभागी थिए। बैठकले घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउने, पीडित पक्षबाट जाहेरी लिएर प्रक्रिया तीव्र बनाउने निर्णय गरेको छ। दोषी पहिचान र कारबाही प्रक्रियामा धार्मिक अगुवाहरूले समेत सहकार्य गर्ने सहमति भएको जनाइएको छ।
त्यसैगरी, व्यक्तिगत घटनालाई धार्मिक वा सामाजिक सद्भावमा असर पुग्ने गरी भड्काउने, सामाजिक सञ्जालमा दुष्प्रचार गर्ने वा घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिलाई साइबर कानुन तथा प्रचलित कानुनअनुसार कारबाही गरिने निर्णय गरिएको छ।
आगामी दिनमा सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी र धार्मिक अगुवाहरूले आ–आफ्नो तर्फबाट संयमता र एकताको सन्देश प्रवाह गर्ने सहमति गरेका छन्। यसैबीच, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार बिहानदेखि लागू गरिएको कर्फ्यु आदेश हटाउने समझदारी समेत भएको छ।
स्थानीय प्रशासनले समुदायबीच आपसी विश्वास र शान्ति कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

















