Logo

११ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज  महानगरपालिकामा आज बिहान लागू गरिएको कर्फ्यू आदेश साँझदेखि हटाएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहान ९ः४५ बजेबाट लागू कर्फ्यू साँझ ४ः३० बजेबाट हटाइएको प्रशासनले जनाएको हो।

प्रशासनका अनुसार परिस्थितिमा क्रमिक सुधार देखिएको तथा सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा कर्फ्यूलाई निरन्तरता दिन आवश्यक नदेखिएकाले आदेश फिर्ता गरिएको हो।

यद्यपि, पूर्ण रूपमा शान्ति–सुरक्षा सामान्य भइनसकेको भन्दै महानगरका केही संवेदनशील क्षेत्रमा आज साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न नपाइने स्पष्ट गरिएको छ।

स्थानीय प्रशासनका अनुसार निषेधाज्ञा लागू क्षेत्रको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकसम्म तोकिएको छ।

प्रशासनले निषेधाज्ञा उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै सबै राजनीतिक दल, सामाजिक तथा धार्मिक संघ–संस्था तथा सर्वसाधारणलाई संयम अपनाई शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार