१२ फाल्गुण, काठमाडौं । भारतको हिमाचल प्रदेशमा विगत चार वर्षदेखि बन्धक बनाएर घरेलु काममा लगाइएकी एक नेपाली युवतीको सकुशल उद्धार गरिएको छ ।
रुकुम पश्चिमकी २१ वर्षीया युवतीलाई हिमाचलको कोतखाई भन्ने स्थानमा घरपरिवारसँगको सम्पर्कविहीन गराई पारिश्रमिक समेत नदिई श्रम शोषण भइरहेको जानकारी पाएपछि सामाजिक संस्था ‘किन इन्डिया’ ले उनको उद्धार गरेको हो । पीडितका आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइनमा सम्पर्क गरेपछि दूतावास, हिमाचल प्रहरी र बाल कल्याण समितिको समन्वयमा यो कारबाही सम्भव भएको हो । कक्षा ११ मा पढ्दै गर्दा स्याउ बगानमा काम गर्न पुगेकी ती किशोरीलाई पछि बगानधनीले घरमै बन्धक बनाएका थिए । हाल उनलाई आवश्यक स्वास्थ्य उपचार र कानुनी प्रक्रियाका लागि सुरक्षित राखिएको छ भने पीडकलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिने तयारी भइरहेको छ ।
यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सुरक्षा व्यवस्थामा कडा कदम चाल्न सरकारलाई सिफारिस गरेको छ । आयोगका सदस्य सगुन शमशेर जबरा नेतृत्वको उच्चस्तरीय सुरक्षा समितिले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न नेपाल–भारत र नेपाल–चीन सीमा नाका ७२ घण्टासम्म पूर्ण रूपमा सिल गर्न सुझाव दिएको हो । खुला सीमाका कारण हुन सक्ने सम्भावित घुसपैठ र अवाञ्छित गतिविधि नियन्त्रण गर्न अत्यावश्यक सेवाबाहेकको आवागमन बन्द गराउने आयोगको योजना छ । निर्वाचन सुरक्षा तयारीका सन्दर्भमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूबीच यसअघि नै सीमा सिल गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको छ ।
निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आयोगले मतदानभन्दा एक साता अघिदेखि नै देशभर मदिरा बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउन समेत सिफारिस गरेको छ। मदिराका कारण हुन सक्ने सामाजिक सद्भाव बिथोलिने कार्य र शान्ति सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको आयोगका प्रवक्ताले जानकारी दिएका छन् । मंगलबार गृह सचिव, रक्षा सचिव र चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा बसेको उच्चस्तरीय बैठकले मतदानको दिन पासवाहक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाउने र सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता विपरीतका गतिविधिलाई कडा निगरानी गर्ने रणनीति तय गरेको छ ।
गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिसकेको र सरकार सुरक्षा प्रत्याभूतिका लागि दृढ रहेको स्पष्ट पारेको छ ।

















