१२ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्र उपलब्ध सम्भावनाअनुसार उत्पादन वृद्धि गरेर नागरिकलाई स्वदेशी उत्पादनमै आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले कृषि उत्पादन र वितरण व्यवस्थामा देखिएको असन्तुलनप्रति प्रश्न उठाए।
“चिया पिउनुभयो? चिया कुन ठाउँको पिउनुभयो? इलाम–दमकको चिया,” उनले उदाहरण दिँदै भने, “खाना खानुभयो? बिहानको तरकारी कहाँको खानुभयो? बोर्डरपारिको खानुभयो।”
उनले तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी पूर्वी तराईका बजारसम्म सहज रूपमा नपुगेको दाबी गरे। “हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन, यो दुःखको कुरा हो,” उनले भने, “यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा।”
पूर्वी तराईका तीन–चार जिल्लामा पूर्ण सम्भावनाअनुसार धान उत्पादन गर्न सके देशभरिका नागरिकलाई खाद्यान्न उपलब्ध गराउन सकिने उनको भनाइ थियो। स्वदेशी उत्पादन, कृषि आधुनिकीकरण र बजार व्यवस्थापनमा सुधारमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य रास्वपाको रहेको उनले बताए।
उनले कृषकको उत्पादनलाई उचित बजार र मूल्य सुनिश्चित गर्दै आयातमा निर्भरता घटाउने नीति अघि सार्ने प्रतिबद्धता पनि व्यक्त गरे।

















