Logo

१२ फागुन,काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आवश्यक रकम सङ्कलन भइसकेको बताएकी छन्।

आज सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएकी छन् कि नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ५३ हजार न्युजिल्यान्ड डलर (झन्डै ४५ लाख रुपैयाँ) सङ्कलन भइसकेको छ। सावित्राले पाएको अपार समर्थन, विश्वास र आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै अब सहयोग रकम रोकिदिन आग्रह गरेकी छन्। उनले पछिल्लो २४ घन्टामा पाएको माया र समर्थनलाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरेकी छन्।

सावित्रा डेढ महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा खेल्दै गर्दा वेलिङ्गटन फिनिक्समा आबद्ध रहँदा ब्रिस्बेन रोअरसँगको खेलमा विपक्षी गोलकिपरसँग ठोक्किँदा घुँडामा गम्भीर चोट लागेकी थिइन्।

साम्बाले यसअघि फेसबुकमार्फत उपचारका लागि ८० हजार अमेरिकी डलर आवश्यक पर्ने बताएकी थिइन्, तर अभियानले त्यसभन्दा बढी रकम उठाएको जानकारी दिइएको छ। उनले सबैको समर्थन र सहयोगप्रति आभार व्यक्त गर्दै अब स्वास्थ्यमा पूर्ण ध्यान केन्द्रित गर्ने बताएकी छन्।

यो घटनाले नेपाली खेलकुद समुदायमा एकता र समर्थनको शक्तिशाली उदाहरण प्रस्तुत गरेको छ।


सम्बन्धित समाचार