१२ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा दशकौँसम्म अविजित कमाण्डर बनेका पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवा आसन्न फागुन २१ को निर्वाचनमा अदृश्य रहने संकेत मिलेको छ ।
विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि र सर्वोच्च अदालतबाट समेत कुनै राहत नपाएपछि देउवा यतिबेला राजनीतिबाट मात्र होइन, चुनावी प्रक्रियाबाटै विमुख देखिएका छन् । पछिल्लो समय गगन थापा नेतृत्वको बदलिएको कांग्रेसले उनलाई चुनावी अभियानमा समेट्न हरसम्भव प्रयास गरे पनि देउवाले कुनै चासो देखाएका छैनन् । डडेलधुराबाट लगातार सात पटक चुनाव जितेका देउवाले यसपटक आफ्नै गृहजिल्ला पुगेर मतदान समेत नगर्ने निर्णय लिएपछि कांग्रेस वृत्तमा यसलाई ‘अघोषित बहिष्कार’ को रूपमा हेरिएको छ ।
देउवा निकट स्रोतका अनुसार पार्टीभित्र नयाँ नेतृत्वले ‘देउवाको अनुहार देखाए चुनाव हारिन्छ’ भन्दै अपमानजनक ढंगले पार्टी कब्जा गरेको पीडा उनमा देखिन्छ । एकातिर नयाँ नेतृत्वले उनलाई चुनावी प्रचारमा हिँडाउन खोज्ने र अर्कातिर चुनाव हारेमा ‘देउवाका कारण हारियो’ भन्ने आरोप लगाउने सम्भावना देखेपछि उनी चुपचाप बस्न चाहेका हुन् । डडेलधुरामा उनका उत्तराधिकारीका रूपमा नैनसिंह महरले देउवाकै फोटो राखेर मत मागिरहेका भए पनि देउवा आफैँ भने घरबाट बाहिर निस्कने मुडमा छैनन् ।
पार्टी प्रवक्ता देवराज चालिसेले देउवालाई अभियानमा ल्याउने कसरत भइरहेको दाबी गरे पनि देउवाको सचिवालयले स्वास्थ्य र सुरक्षाको कारण देखाउँदै मतदानका लागि समेत डडेलधुरा जाने सम्भावना न्यून रहेको स्पष्ट पारेको छ । देउवाको यो मौनता केवल चुनावी विश्राम मात्र नभएर आगामी राजनीतिक रणनीतिको एउटा हिस्सा भएको विश्लेषण गरिएको छ । निर्वाचन लगत्तै पार्टीभित्र कानुनी र राजनीतिक दुवै मोर्चाबाट निर्णायक लडाइँ सुरु गर्ने तयारीमा साविक संस्थापन पक्ष जुटेको देखिन्छ ।
आफ्नै पार्टीका उम्मेदवारलाई रुख चिह्नमा मत हाल्न अपिल समेत नगर्नुले देउवा र वर्तमान नेतृत्वबीचको दूरी कति गहिरो छ भन्ने प्रस्ट पारेको छ । फागुन २१ को मतदान हुनुअघि देउवालाई डडेलधुरामा देखाउन गरिएको प्रयास असफल भएमा यसले कांग्रेसको चुनावी नतिजामा मात्र होइन, चुनावपछिको आन्तरिक शक्ति सन्तुलनमा समेत गम्भीर असर पार्ने निश्चित छ ।

















