१३ फाल्गुण, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो दलले अप्रत्याशित परिणाम निकाल्ने उद्घोष गर्दै प्रत्यक्षतर्फ ६० सिटभन्दा बढी जित्ने उच्च मनोबलका साथ दाबी गरेका छन् ।
बुधबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित वाम बुद्धिजीवीहरूसँगको विशेष छलफलमा उनले पार्टीको राजनीतिक कार्यदिशा प्रस्ट रहेको र सिधा रूपमा राष्ट्र, लोकतन्त्र तथा संविधानको रक्षाका लागि उभिएकाले कार्यकर्ता र शुभेच्छुकमा उत्साह भरिएको बताए । निष्पक्ष निर्वाचन भएको खण्डमा नेकपाले पहिलेको तुलनामा निकै राम्रो नतिजा ल्याउने जिकिर गर्दै प्रचण्डले आफ्ना कट्टर विरोधीहरूले समेत यसपटक नेकपाको शक्ति बढेको स्वीकार गर्न थालेको बैठकमा सुनाएका थिए ।
सोही बैठकमा पार्टीका अर्का प्रभावशाली नेता प्रमेश हमालले पनि स्थानीय कमिटीहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्वाचनको गणितीय प्रक्षेपण प्रस्तुत गर्दै प्रत्यक्षतर्फ ६० सिट र समानुपातिकतर्फ कम्तीमा २० देखि २५ लाख मत प्राप्त हुने विश्वास व्यक्त गरे । झन्डै १२ वर्षपछि कुनै पनि चुनावी गठबन्धन नगरी एक्लै मैदानमा उत्रिएको नेकपाले देशका १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू खडा गरेको छ । पार्टीले विशेष गरी बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आफ्नो पकड क्षेत्रका रूपमा पहिचान गर्दै त्यहाँबाटै उल्लेख्य सिट जित्ने रणनीति बनाएको हमालको भनाइ थियो ।
प्रचण्डले बुद्धिजीवीहरूसँगको छलफलमा पार्टीको आत्मविश्वास उच्च रहेको ब्रिफिङ गरे पनि वास्तविक धरातल र चुनावी अङ्कगणितबारे थप सूक्ष्म विश्लेषण गर्न भोलि बिहीबार सचिवालयको बैठक आह्वान गरिएको छ । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलहरूबीच दाबी र प्रतिदाबीको होडबाजी चलिरहेका बेला प्रचण्डले सार्वजनिक गरेको यो ६० प्लसको आँकडाले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ ।
एक्लो चुनावी दौडमा रहेको नेकपाको यो दाबीलाई धेरैले शक्ति प्रदर्शन र कार्यकर्तालाई चुनावी मोर्चामा सक्रिय बनाउने रणनीतिका रूपमा समेत विश्लेषण गरेका छन् ।

















