प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन हवाई यात्रुहरूका लागि राहत मिल्ने गरी निर्वाचन आयोगले महत्वपूर्ण निर्णय गरेको छ ।

विगतका निर्वाचनहरूमा आन्तरिक उडान ठप्प पार्ने प्रचलन रहे पनि यस पटक भने आयोगले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानलाई यथावत् सञ्चालन गर्न दिने व्यवस्था मिलाएको छ । यस सम्बन्धमा आयोगले गृह मन्त्रालयलाई पत्राचार गर्दै उडान तालिका अनुसारका यात्रुहरूलाई आवागमनमा कुनै अवरोध नहुने वातावरण बनाउन निर्देशन दिएको छ । निर्वाचनको समयमा हुने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पर्यटक र अनिवार्य यात्रामा रहेका सर्वसाधारणको सुविधाका लागि यो कदम चालिएको हो ।

विमानस्थल आउजाउका लागि सवारी साधनको व्यवस्था

सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको भए तापनि हवाई टिकट भएका यात्रुहरूको हकमा भने विशेष लचकता अपनाइएको छ । आयोगको निर्णय अनुसार उडानको सुनिश्चितता भएका यात्रुहरूले विमानस्थलदेखि आफ्नो घर वा होटलसम्म र घरबाट विमानस्थलसम्म पुग्नका लागि निजी सवारी साधन वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएका गाडीहरू प्रयोग गर्न पाउनेछन् । यसअघि नेपाल पर्यटन बोर्डले जारी गरेको ट्राभल एडभाइजरी र पुराना प्रचलनहरूलाई विस्थापित गर्दै आयोगले यात्रुहरूको सहजताका लागि गृह मन्त्रालयमार्फत सुरक्षा निकायहरूलाई आवश्यक समन्वय गर्न भनेको छ ।

७२ घण्टा अघिदेखि नै अन्तर्राष्ट्रिय सीमानाका बन्द

हवाई मार्ग खुला गरिए पनि स्थल मार्गबाट हुने घुसपैठ र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आयोगले सीमा क्षेत्रमा भने निकै कडाइ गरेको छ। मतदानको ७२ घण्टा अघिदेखि नै सबै अन्तर्राष्ट्रिय सीमानाकाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको छ । सीमा पारिबाट हुनसक्ने अवाञ्छित चलखेल रोक्न ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । यसका साथै फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म देशभरका सडकमा अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सबै प्रकारका सार्वजनिक तथा निजी यातायात सञ्चालनमा पूर्ण रोक लगाइनेछ ।

मदिरा बिक्री र मौन अवधिमा विशेष निगरानी

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन आयोगले फागुन १४ गतेदेखि नै देशभर मादक पदार्थको बिक्री(वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ। यो नियम निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म लागू रहनेछ । यस्तै, फागुन १८ गते राति १२ बजेदेखि ुमौन अवधिु सुरु हुने भएकाले यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन । आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालय र सुरक्षा निकायहरूलाई विशेष जिम्मेवारी सुम्पिएको छ ।


सम्बन्धित समाचार