प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा विभिन्न कम्युनिस्ट तथा समाजवादी शक्तिहरू आबद्ध नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार आफ्नो विस्तृत चुनावी अपिल सार्वजनिक गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित उक्त अपिलमार्फत ‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं’ भन्ने मुख्य संकल्पका साथ तारा चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई आह्वान गरिएको छ । पार्टीले सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई आफ्नो मूल चुनावी मुद्दा बनाउँदै वर्तमान खर्चिलो र जटिल निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सरल र कम खर्चिलो प्रणाली अपनाउने उद्घोष गरेको छ ।

सम्पत्ति छानबिनदेखि अतिक्रमित भूमि फिर्तासम्म

संविधानको सवालमा नेकपाले वर्तमान व्यवस्थालाई खारेज गर्ने अतिवादी सोचको विरोध गर्दै संविधानको गम्भीर समीक्षा र पुनरावलोकनमार्फत आवश्यक परिमार्जन गर्ने अठोट लिएको छ । लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीलाई सुदृढ बनाउँदै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने लक्ष्य राखेको यस पार्टीले भ्रष्टाचारविरुद्ध कडा नीति अख्तियार गरेको छ । विशेषगरी, सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने जस्ता भ्रष्टाचार नियन्त्रणका साहसिक योजनाहरू अपिलमा समेटिएका छन् । संघीयताको मर्म अनुसार जनताको घरदैलोमै सेवा पुर्याउँदै कमिसनतन्त्र र ढिलासुस्ती जस्ता बेथिति अन्त्य गर्ने प्रतिबद्धता नेताद्वयले व्यक्त गर्नुभएको छ ।

आर्थिक–सामाजिक रूपान्तरणका लागि नेकपाले आयातमुखी राजस्व प्रणाली र बढ्दो व्यापार घाटालाई निरुत्साहित गर्दै कृषि, जलस्रोत र पर्यटनको विकासबाट स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ । दलाल पुँजीवाद, कालोबजारी र मिटरब्याजी जस्ता आर्थिक अपराधलाई नियन्त्रण गरी शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच सुनिश्चित गर्ने ‘वैज्ञानिक समाजवाद’ को आधार खडा गर्ने वाचा गरिएको छ ।

यसका साथै, समाजमा व्याप्त जातीय छुवाछुत, छाउपडी जस्ता विभेदको अन्त्य गर्ने र राष्ट्रिय स्वाधीनताका लागि पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पहल गर्ने विषयलाई नेकपाले प्राथमिकताका साथ उठाएको छ ।

निर्वाचन-अपिल


सम्बन्धित समाचार