प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण्न, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बनेर उदाउने र देशको नेतृत्व सम्हाल्ने उद्घोष गर्नुभएको छ ।

नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचन नेकपाका लागि एउटा ऐतिहासिक अग्निपरीक्षा भएको र यसमा पार्टीले श्रेष्ठता हासिल गर्ने दाबी गर्नुभयो । निर्वाचनको मुखमा पार्टी कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ परिचालन हुन आग्रह गर्दै प्रचण्डले अबको केही दिन युद्धस्तरमा चुनावी अभियानमा होमिन निर्देशन समेत दिनुभयो ।

संयोजक प्रचण्डले सुरुका दिनमा अन्य दलहरू अन्योलमा रहे पनि अन्ततः देश नेकपाले अघि सारेकै निर्वाचनको एजेण्डामा समाहित भएको तर्क गर्नुभयो। ‘हिजोसम्म सर्वदलीय सरकार र संसद् पुनर्स्थापनाका कुरा गर्नेहरू पनि आज निर्वाचनकै मैदानमा आएका छन्, यसले नेकपाको राजनीतिक लाइन र अडान सही थियो भन्ने पुष्टि गरेको छ,’ उहाँले भन्नुभयो ।

उहाँले आफ्नो पार्टीले देशका विद्यमान समस्या समाधानका लागि निर्वाचनलाई नै उत्तम विकल्प मानेको र अहिले सम्पूर्ण मुलुक निर्वाचनमय हुनु नेकपाको वैचारिक जित भएको जिकिर समेत गर्नुभयो।

विभिन्न सञ्चारमाध्यम र राजनीतिक वृत्तमा नेकपा र नेकपा एमालेबीच १० सिटमा चुनावी तालमेल हुन लागेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नरहेको प्रचण्डले स्पष्ट पार्नुभयो । उहाँले नेकपा यसपटक कसैको वैशाखी नजोगिई एक्लै निर्वाचनको मैदानमा उत्रिएको र जनताको मतबाटै एक नम्बर पार्टी बन्ने दाबी गर्नुभयो ।


सम्बन्धित समाचार