१६ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रिमा यादवलाई विजयी गराउने अभियानअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २५को कोनिया टोलका जेनजी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
वडामा आयोजित विशेष कार्यक्रममार्फत विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा सक्रिय युवाहरू पार्टीमा प्रवेश गरेको एमाले मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादवले जानकारी दिए।
प्रवेश गर्ने युवाहरूले मुलुकको रक्षा, स्वाधीनता, समृद्धि, स्थायित्व र विकासका लागि एमाले नै उपयुक्त विकल्प भएको निष्कर्षसहित पार्टी रोजेको बताएका छन्।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगीले युवाशक्तिको साथ र समर्थनले एमालेको उम्मेदवारी अझ मजबुत बनेको बताए। उनले नयाँ पुस्ताको ऊर्जा, सोच र प्रविधिमैत्री दृष्टिकोणलाई राजनीतिमा समेट्दै पर्सा–२ को समग्र विकासका लागि ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
युवाहरूले अबको राजनीति विकासमुखी, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै रिमा यादवलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
वीरगञ्ज–२५ मा भएको प्रवेश कार्यक्रमले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरूबीच युवाको समर्थन आकर्षित गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

















