प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन,वीरगञ्ज ।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा भारतसँग जोडिएका सबै सीमा नाकाहरू फागुन १८ गते राति १२ बजेबाट फागुन २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको जनाइएको छ।

प्रशासनका अनुसार तोकिएको अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सीमा आवतजावतमा रोक लगाइनेछ। साथै, होली तथा सामुदायिक पर्व जस्ता सामाजिक कार्यक्रम मनाउन पनि कडाइ गरिएको छ। सार्वजनिक स्थलमा भीडभाड, जुलुस, र्‍याली, हो–हल्ला, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने गतिविधि तथा मोटरसाइकल प्रयोग गरी होली मनाउने कार्य निषेध गरिएको छ।

निर्वाचन मौन अवधिभर कुनै पनि राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसार, झन्डा–ब्यानर प्रदर्शन, डीजे वा अन्य ध्वनि प्रदूषण गर्ने गतिविधि गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।

आदेश उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै सबै सरोकारवालालाई निर्वाचन आचारसंहिता पालनाका लागि आग्रह गरिएको छ।


सम्बन्धित समाचार