प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फाल्गुण, काठमाडौं । करिब साढे तीन दशकदेखि इरानको शक्तिको केन्द्रमा रहेका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युको औपचारिक पुष्टि भएसँगै मध्यपूर्व र विश्व राजनीतिमा एउटा ठूलो हलचल पैदा भएको छ ।

इरानी सरकारी टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको घोषणा गरेसँगै सन् १९८९ देखि सुरु भएको उनको लामो शासनकालको अन्त्य भएको छ । शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको भीषण सैन्य आक्रमणमा खामेनीको निवास समेत निशानामा परेपछि उनको निधन भएको समाचार सार्वजनिक भएको हो । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको संकेत गरिसकेका थिए, जसलाई अहिले इरानी सञ्चारमाध्यमले पनि स्वीकार गरेका छन् ।

खामेनीको निधनले इरानमा मात्र नभई सम्पूर्ण क्षेत्रको शक्ति सन्तुलनमा गम्भीर प्रश्न खडा गरिदिएको छ । शाह मोहम्मद रजा पहलवीपछि इरानको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने यी नेताको अनुपस्थितिमा अबको नेतृत्व कसले सम्हाल्छ भन्ने विषयमा व्यापक कौतूहल र अड्कलबाजी सुरु भएको छ । इरानी राजनीतिक संयन्त्र अनुसार अबको सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी ८८ जना वरिष्ठ धर्मगुरुहरूको निर्वाचित निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ को काँधमा आएको छ । यो निकायले इरानको धार्मिक र राजनीतिक भविष्यलाई कुन दिशामा लैजाने भन्ने निर्णय गर्नेछ, जसका लागि केही प्रभावशाली धर्मगुरुहरूको नाम चर्चाको शिखरमा रहेको छ ।

तर, नेतृत्व चयनको यो प्रक्रिया त्यति सहज भने देखिँदैन । एकातिर पश्चिमा शक्तिहरू इरानमा सत्ता परिवर्तन भई उदारवादी वा पश्चिमा समर्थक सरकारको उदय हुने आशामा छन् भने, अर्कोतिर इरानी सैन्य बल र कट्टरपन्थी समूहहरूले अमेरिका र इजरायली हमलाको कडा प्रतिरोध गरिरहेका छन् । वर्तमान युद्धको अवस्थामा आक्रमणलाई निरन्तरता दिने वा युद्धविरामको बाटो रोज्ने भन्ने निर्णायक मोडमा इरान उभिएको छ । अबको उत्तराधिकारीले खामेनीको कडा राजनीतिक धारलाई नै निरन्तरता दिन्छन् वा इरानको ४५ वर्ष लामो इस्लामिक गणतन्त्रको स्वरूपमा कुनै परिवर्तन आउँछ, त्यो भने आगामी केही दिनको राजनीतिक घटनाक्रमले प्रस्ट पार्नेछ ।


सम्बन्धित समाचार
भर्खरै