प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फाल्गुण, काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा अस्वस्थ बन्दै गएको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।

आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोगको कार्यालय पुगेर आचारसंहिता विपरीतका गतिविधि रोक्न र दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि जारी गरिएको आचारसंहिताको केही दलहरूले धज्जी उडाएको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको छ ।

आयोगमा बुझाइएको ध्यानाकर्षण पत्रमा विशेष गरी निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको र भौतिक चुनाव चिन्हहरूको खुलेआम दुरुपयोग भइरहेको विषयलाई प्राथमिकताका साथ उठाइएको छ । प्रवक्ता चालिसेका अनुसार कतिपय दलहरूले राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी आयोगको निर्देशनलाई लत्याउँदै यसको दुरुपयोग गरिरहेका छन् । निर्वाचनको पवित्रता कायम राख्न र भयमुक्त वातावरणमा मतदान गर्ने अधिकार सुरक्षित गर्न आयोगले आफ्नो नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

त्यसैगरी, सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र दुष्प्रचारले जनमतलाई गलत दिशामा लैजान सक्ने भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ । आफ्नो दलको अभिष्ट पूरा गर्नका लागि सामाजिक सञ्जालको दुरुपयोग गरी आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण भइरहेको भन्दै त्यस्ता कार्यमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा देखिएका यी उच्छृङ्खल र गैरकानुनी गतिविधिले लोकतान्त्रिक अभ्यासलाई नै कमजोर पार्ने भन्दै कांग्रेसले आयोगलाई तत्काल कदम चाल्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार