१७ फागुन,मोरङ । निर्वाचन प्रचारका क्रममा सञ्चालनमा रहेको नेपाली कांग्रेस को प्रचार गाडीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। गाडीबाट ४ लाख ४९ हजार रुपैयाँ बरामद भएपछि उक्त रकम र सवारी साधन छानबिनका लागि निर्वाचन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ का प्रमुख कवित कटवल का अनुसार रतुवामाइ नगरपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले शंकास्पद गतिविधि देखिएको भन्दै गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए।
प्रहरी पुगेर जाँच गर्दा गाडीमा कांग्रेसका प्रचार सामग्रीसहित नगद रकम भेटिएको थियो। रकमको स्रोतबारे सोधपुछ गर्दा चालकले आफू व्यवसायी भएको र रकम आफ्नै भएको दाबी गरेका थिए। प्रहरीले प्रारम्भिक रूपमा नियन्त्रणमा लिएका तीनै जनालाई सोधपुछपछि रिहा गरेको जनाएको छ।
बरामद रकम र गाडीलाई थप अनुसन्धानका लागि मोरङ–२ निर्वाचन कार्यालय मा बुझाइएको छ। निर्वाचन अधिकृत रूद्र आचार्य ले आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
मोरङ–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि कांग्रेसका मिनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दिलीपकुमार अग्रवाल, नेपाल कम्युनिष्ट पार्टी का चन्द्रवीर राई तथा रास्वपाका कृष्ण कुमार कार्की उम्मेदवार रहेका छन्।
घटनाबारे निर्वाचन आचारसंहिता उल्लंघन भएको वा नभएको विषयमा सम्बन्धित निकायबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ।

















