प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी को चुनावी अभियानले नयाँ गति लिएको छ। वीरगंज महानगरपालिका वडा नं. २९ रतनपुरमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा ५० भन्दा बढी स्थानीयले औपचारिक रूपमा जसपामा प्रवेश गरेका छन्। पछिल्लो केही दिनमा सोही क्षेत्रबाट २ सयभन्दा बढी स्थानीय पार्टीमा समाहित भएको जानकारी पनि प्राप्त भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित टेमानीले नवप्रवेशीहरूलाई स्वागत गर्दै उनीहरूको विश्वास र समर्थनप्रति आभार व्यक्त गरे। उनले जनताको अपेक्षाअनुसार विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्सा क्षेत्र नं. २ को समग्र विकासका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ अघि बढेको बताए।

उम्मेदवार टेमानीले विगतमा विकासका नाममा धेरै आश्वासन दिइए पनि व्यवहारमा अपेक्षित उपलब्धि हुन नसकेको भन्दै अब जनताको वास्तविक समस्या समाधान गर्ने नेतृत्व आवश्यक रहेको बताए। “रतनपुर सहित वीरगंजका धेरै बस्तीहरूमा सडक, नाला, खानेपानी, सरसफाइ, शिक्षा र रोजगारी जस्ता आधारभूत समस्या अझै समाधान हुन सकेका छैनन्। जनता समाजवादी पार्टी जनताको यिनै समस्यालाई केन्द्रमा राखेर काम गर्नेछ,” उनले भने।

कार्यक्रममा पार्टी प्रवेश गर्ने स्थानीयहरूले जसपाको नीति, कार्यक्रम र नेतृत्वप्रति विश्वास व्यक्त गरे। नवप्रवेशीहरूले अब पार्टीको संगठन विस्तार र चुनावी अभियानमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विशेषगरी युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

स्थानीय युवाहरूले अब परिवर्तनका लागि सक्षम र उत्तरदायी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै जसपाको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले रोजगारीका अवसर सिर्जना गर्ने, युवा भविष्य सुनिश्चित गर्ने र स्थानीय विकासलाई गति दिने उम्मेदवारको रूपमा टेमानीलाई समर्थन गर्ने बताए।

कार्यक्रममा जसपाका स्थानीय नेता, कार्यकर्ता, समाजसेवी तथा बुद्धिजीवीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले पार्टी प्रवेश गर्नेहरूको संख्या निरन्तर बढिरहेको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे।

अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा आगामी चुनावी रणनीति, संगठन विस्तार र मतदातासँगको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। स्थानीय स्तरमा पार्टीलाई अझ बलियो बनाउने, जनताको समस्या प्रत्यक्ष रूपमा बुझ्ने र समाधानका लागि प्रभावकारी पहल गर्ने विषयमा विशेष जोड दिइएको थियो।

वीरगंज–रतनपुरमा भएको यो कार्यक्रमले जनता समाजवादी पार्टीप्रति बढ्दो जनसमर्थन र युवाहरूको आकर्षणलाई स्पष्ट रूपमा उजागर गरेको छ। निर्वाचन नजिकिँदै जाँदा टेमानीको सक्रियता, प्रत्यक्ष संवाद र संगठन विस्तारको अभियानले पर्सा क्षेत्र नं. २ मा राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषकहरूले बताएका छन्।

स्थानीय स्तरमा भइरहेको निरन्तर पार्टी प्रवेश, भेटघाट र जनसम्पर्क कार्यक्रमहरूले जसपाको उपस्थितिलाई थप बलियो बनाउँदै लगेको र आगामी निर्वाचनमा उल्लेखनीय सफलता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार