२० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक रहेको पाइएको छ ।
निर्वाचन आयोग का प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त दाबीमा कुनै सत्यता नभएको स्पष्ट पारे । केही सञ्चारमाध्यमले तामाङसँग जर्मनीको स्थायी आवास (पीआर) रहेको भन्दै आयोगले आजै उम्मेदवारी रद्द गर्न लागेको समाचार प्रकाशन गरेका थिए । ती समाचार सामाजिक सञ्जालमा भाइरल बनाउँदै रास्वपाको थप एक सिट घटेको दाबीसमेत गरिएको थियो ।
प्रवक्ता भट्टराईले भने, “मिडियाले आफूखुशी समाचार लेख्छन्, आफैं निर्णय सुनाउँछन् । त्यसमा कुनै पनि सत्यता छैन ।” उनले तामाङको उम्मेदवारी सम्बन्धमा आयोगमा कुनै छलफलसमेत नभएको उल्लेख गर्दै ‘मिडिया ट्रायल’ गर्न खोजिएको टिप्पणी गरे ।
यसअघि मनोनयन दर्ताका क्रममा पनि विरोधी पक्षले तामाङसँग जर्मनीको पीआर रहेको दाबी गरेका थिए । त्यसबेला तामाङले विगतमा जर्मनीको टेम्पोरेरी रेजिडेन्सी (टीआर) भिसा रहे पनि हाल निष्क्रिय भइसकेको स्पष्ट पारेकी थिइन् । आवश्यक जाँचबुझपछि आयोगले उनको मनोनयनपत्र स्वीकृत गरेको थियो ।
आयोगले हालसम्म तामाङको उम्मेदवारी यथावत् रहेको जनाएको छ ।

















