Logo

३ बैशाख, वीरगञ्ज । मधेस प्रदेशको ८ वटै जिल्ला अन्र्तगतका सरकारी अस्पतालमा मनोचिकित्सकको व्यवस्था नहुँदा बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन् ।

मधेसका कुनै पनि अस्पतालमा मानसिक रोगको उपचारका लागि मनोचिकित्सक नहुँदा मानसिक स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिएका बिरामीले पनि निजी अस्पतालमा गई चर्को शुल्कमा उपचार गराउन बाध्य भएका हुन् ।

मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा समेत लामो समयदेखि मानसिक स्वास्थ्यको उपचारको लागि मनोचिकित्सकको दरबन्दी भएपनि डाक्टर भने छैनन् ।

कोभिडको कारण केही समय देखि मानिसहरुमा मानसिक समस्याबाट पीडित भएका घटना आएको भएपनि सरकारी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा फिजिसियन डाक्टरहरुले नै उपचार गर्दै आइरहेका छन् । केही जटिल विरामीहरुलाई निजी अस्पताल र मेडिकल कलेजमा रिफर गर्ने गरेको नारायणी अस्पतालका चिकित्सकहरु बताउछन ।

विगत ३–४ वर्षदेखि नारायणी अस्पतालमा मनोचिकित्सक डाक्टर नभएको अस्पतालका प्रवक्ता डा.उदय नारायण सिहंले जानकारी दिनुभयो । उहाँका अनुसार एकवर्ष अगाडि एकजना मनोचिकित्सक डाक्टर आउनुभएको थियो । तर उहाँ एक महिनाअघि सरुवा गराएर जानुभएको हो । उहाँ गएलगत्तै मानसिक रोग विभाग खाली भएको छ ।

केहि समयअघि अस्पतालमा मनोरोगीका लागि १० शय्या सहितको वाड छुट्टाउने भनि काम अघि बढाएको भएपनि राजनितिक हस्तक्षेपको कारण सो काम रोकिएको उहाँको भनाई छ ।

अस्पतालमा मानसिक समस्याले गुर्जिएर आएका बिरामीलाई समेत फिजिसियनले हेनुपर्ने अवस्था रहेको डा. सिंहले बताउनुभयो । जटिल समस्याले ग्रसित भएका बिरामीलाई मनोचिकित्सकको निजी क्लिनिक वा नेशनल मेडिकल कलेजमा रिफर गरिने उहाँले जानकारी दिनुभयो ।

दिनहुँ मानसिक रोगका लक्षण भएका विरामीहरु अस्पताल आउने गरेका छन् तर विशेषज्ञ डाक्टर नहुँदा फिजिसियन डाक्टरले नै परामर्श दिनु परेको छ डाक्टर सिंहले भन्नु भयो ।

यता मानसिक रोग जटिल समस्या भएकाले यसलाई अवज्ञा गर्न नहुने मानसिक तथा नसा रोग विशेषज्ञ डा. भरत कुमार गोईतको भनाई छ । उहाँले मधेश प्रदेशकै सरकारी अस्पतालहरुमा मनोरोगीको व्यवस्था नहुनु दुखद विषय भएको भन्दै मानसिक रोगीहरुको उपचारका लागि सकेसम्म अस्पतालकै व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार यदि अस्पताल सम्भव नभए कम्तिमा पनि अस्पतालमा मानसिक रोगीका लागि बेडसहितको वाड छुट्टाउनु पर्दछ । आफ्नै क्लिनिकमा समेत कतिपय मनोरोगी बिरामीलाई फिजिसियनले उपचार गरेको देखिएको बताउनुहुदैँ डा. गोईतले यस कारणले झनै बिरामीको स्वास्थ्यमा थप समस्या निम्तिने उल्लेख गर्नुभयो ।

प्राचिन समयदेखि नै देवीदेउता लागेको भन्दै धामी झांक्रीको लगेर फुकफाक गरे बिरामी ठिक हुने प्रवृति अहिलेसम्म पनि विद्यमान रहेको उहाँको गुनासो छ । तसर्थ मानसिक रोगी सामान्य मानिस भन्दा हुने भएकाले समयमै डाक्टरकोमा गएर उपचार गराए मानसिक रोगी पनि ठिक हुने उहाँको तर्क छ ।

स्थानिय, प्रदेश र केन्द्रिय सरकारले मानसिक रोगलाई नियन्त्रण गर्नकै लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानसिक रोग कै कारण लागुपदार्थ दुव्र्यसनीको बिगबिगी बढ्ने भन्दै उहाँले रोगको घनत्व पहिचान गरि यसलाई प्राथमिकतामा राखेर रोकथाम गर्न अघि बढ्नुपर्ने डा. गोईतको सुझाव छ ।


सम्बन्धित समाचार