२६ फाल्गुण, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार देखिएको अभूतपूर्व उत्साह र उछालले मंगलबार भने निरन्तरता पाउन सकेन । अघिल्लो दिन लगातार तीन पटक सकारात्मक सर्किट लागेर समय अगावै बन्द भएको बजारमा मंगलबार भने तीव्र करेक्सन देखिएको छ ।
नेप्से परिसूचक ३२।०८ अंकको गिरावटसँगै २ हजार ८ सय ४३ दशमलब ३५ विन्दुमा ओर्लिएर बन्द भएको छ । सोमबारको उछालपछि लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारको गतिमा मत्थर आएको विश्लेषण गरिएको छ ।
कारोबार रकममा ऐतिहासिक सक्रियता
परिसूचक ओरालो लागे पनि बजारमा शेयर खरिद(बिक्रीको चाप भने निकै उच्च देखिएको छ । मंगलबारको कारोबारमा २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ, जसले लगानीकर्ताहरूको बजारप्रतिको सक्रियता अझै कायम रहेको संकेत गर्दछ । दिनभरिको कारोबारमा जम्मा ७५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबारका आधारमा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रह्यो, जसको एक अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
कमाउने र गुमाउने कम्पनीहरू
बजार घटे पनि केही कम्पनीका लगानीकर्ताहरूले भने उल्लेख्य नाफा कमाएका छन् । रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक र थ्रीस्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले यी कम्पनीका लगानीकर्तालाई सर्वाधिक लाभ दिलाएको छ । अर्कातर्फ, हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताहरूले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्यमा ६।३६ प्रतिशतको गिरावट आएको नेप्सेले जनाएको छ । परिसूचकमा देखिएको यो उतारचढावले बजारमा अझै केही समय अस्थिरता रहन सक्ने अनुमान लगानीकर्ताहरूले गरेका छन् ।

















