Logo

२७ फाल्गुण, काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेको ११ औँ दिन पुग्दा ह्वाइट हाउसका दुई प्रमुख नेतृत्व राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच नीतिगत मतभेद सतहमा आएको छ ।

फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले स्वयं स्वीकार गरेअनुसार, उपराष्ट्रपति भान्स इरानसँगको युद्धलाई अगाडि बढाउने विषयमा आफू जत्तिको उत्साहित देखिएका छैनन् । प्रायः सबै घरेलु र अन्तर्राष्ट्रिय मुद्दामा एउटै लयमा हिँड्ने यो जोडीबीच इरानसँगको सैन्य मोर्चाले पहिलोपटक दार्शनिक दूरी पैदा गरिदिएको छ, जसलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

उपराष्ट्रपति भान्सको यो असन्तुष्टि उनको पुरानो राजनीतिक दर्शनसँग मेल खान्छ, जहाँ उनले सधैँ अमेरिकी सेनालाई बिनासित्ती विदेशी युद्धमा होम्न नहुने तर्क गर्दै आएका छन् । सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका बलियो दावेदार मानिएका भान्सले यसअघि पनि ट्रम्पले अमेरिकालाई अनावश्यक सैन्य द्वन्द्वबाट टाढा राख्ने विश्वासका साथ आफूले साथ दिएको उल्लेख गरेका थिए । अहिले इरानमाथिको कारबाही लम्बिँदै जाँदा उनले निजी रूपमा यो अभियानलाई छिटोभन्दा छिटो टुङ्ग्याउन राष्ट्रपतिमाथि दबाब बढाइरहेका छन् । यो विवादले प्रशासनभित्र वैदेशिक हस्तक्षेपको कट्टर समर्थक मानिने विदेशमन्त्री मार्को रुबियो र भान्सबीचको वैचारिक द्वन्द्वलाई समेत स्पष्ट पारेको छ ।

इरानमा भएको संयुक्त आक्रमणपछि मध्यपूर्वको समीकरण जटिल बनिरहेका बेला अमेरिकी नेतृत्वभित्रै देखिएको यो फाटोले आगामी दिनको सैन्य रणनीतिलाई प्रभावित पार्न सक्ने देखिन्छ । एकातिर ट्रम्प प्रशासन इरानको परमाणु र सैन्य क्षमतालाई पूर्ण रूपमा ध्वस्त पार्ने रणनीतिमा दृढ देखिन्छ भने अर्कोतिर भान्स पक्षधर समूह यसले निम्त्याउन सक्ने दीर्घकालीन आर्थिक र मानवीय क्षतिप्रति सचेत देखिएको छ । ह्वाइट हाउसभित्रको यो शक्ति संघर्षले इरान-इजरायल तनावको भविष्य कुन दिशामा मोडिनेछ भन्ने कुरालाई थप रहस्यमयी बनाएको छ ।


सम्बन्धित समाचार