Logo

२७ फाल्गुण, काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा विवादास्पद छविका नेता राजीव गुरुङ उर्फ दीपक मनाङे बुधबार डिल्लीबजार कारागारबाट मुक्त भएका छन् ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका मनाङे तोकिएको सजाय पूरा गरेपछि कारागारमुक्त भएका हुन् । सर्वोच्च अदालतले गत कात्तिक २० गते उच्च अदालत पाटनको फैसला सदर गरेसँगै उनी कात्तिक २७ गते पक्राउ परी जेल चलान भएका थिए । मनाङेले कैद अवधिको २० प्रतिशत छुट पाएपछि बाँकी रहेको १ वर्ष ४ महिनाको सजाय पूरा गरी दुई दशक लामो कानुनी प्रक्रियाबाट विश्राम पाएका छन् ।

ग्याङ फाइट र खुकुरी प्रहारको त्यो घटना

मनाङेको यो कैद सजायको सिलसिला विसं २०६१ वैशाख ३१ गते महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा भएको ग्याङ फाइटसँग जोडिएको छ । अर्का गुन्डा नाइके चक्रे मिलनको समूहमाथि आक्रमण गर्ने क्रममा मनाङेले धारिलो हतियार प्रहार गरी मिलनको बायाँ हात छिनालिदिएका थिए । उक्त घटनापछि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भए पनि जिल्ला अदालतले यसलाई सामान्य कुटपिट मात्र ठहर गरेको थियो । तर, सरकारी वकिलको पुनरावेदनपछि उच्च अदालत पाटनले जिल्लाको फैसला उल्ट्याउँदै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । सोही फैसलालाई पछिल्लो पटक सर्वोच्च अदालतले समेत सदर गरेपछि मनाङेले अन्तिम पटक कारागारको यात्रा तय गर्नुपरेको थियो ।

कानुनी छिद्र र जेलबाहिरै बसेर राजनीति गर्ने दाउ

मनाङेको कानुनी लडाइँ निकै पेचिलो र नाटकीय रह्यो । उच्च अदालतबाट ५ वर्षको सजाय सुनाइए पनि उनी लामो समय फरार सूचीमा रहेरै मनाङबाट प्रदेश सभा सदस्य निर्वाचित हुन सफल भए । पछि सर्वोच्चमा पुनरावेदन गर्ने म्याद नाघेको भन्दै जेल चलान भएका मनाङेले कानुनी छिद्र प्रयोग गर्दै थुनाबाहिरै बसेर मुद्दा लड्ने सुविधा समेत पाएका थिए । पटक–पटक गरी २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका उनले २०७४ देखि २०८१ सम्मको अवधिमा बाहिरै रहेर गण्डकी प्रदेशको राजनीतिमा निर्णायक भूमिका खेल्दै पटक-पटक मन्त्री समेत बने । अन्ततः सर्वोच्चको अन्तिम फैसला कार्यान्वयनका क्रममा जेल गएका उनी बुधबारबाट पूर्ण रूपमा स्वतन्त्र भएका छन् ।


सम्बन्धित समाचार