२८ फागुन, काठमाडौँ । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८८ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा उज्वेकिस्थान, दोस्रो स्थानमा पाकिस्तानको लाहोर, तेस्रो स्थानमा भियतनाम, पाँचौ स्थानमा भारतको दिल्ली र छैटौँ स्थानमा पनि भारतकै कोलकाता रहेका छन् ।

यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाँका भने १० औं स्थानमा झरेको छ ।
प्रदूषण बढेपछि सरोकारवालाले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।

















