Logo

२८ फाल्गुण, काठमाडौं । इरान युद्धका कारण कतारको आकाश (हवाई क्षेत्र) बन्द भएपछि विश्वव्यापी रूपमा प्रभावित बनेको कतार एयरवेजले आफ्नो उडान सेवालाई आंशिक रूपमा ब्युँताउन सीमित उडान तालिका सार्वजनिक गरेको छ ।

कतार नागरिक उड्डयन प्राधिकरणबाट अस्थायी रूपमा सीमित हवाई मार्ग प्रयोगको अनुमति पाएसँगै एयरलाइन्सले मार्च १७ सम्मका लागि विश्वका प्रमुख १४ सहरहरूमा उडान भर्ने निर्णय गरेको हो । यो नयाँ तालिका अनुसार दिल्ली, मुम्बई, ढाका, बेइजिङ र न्युयोर्क लगायतका गन्तव्यमा दैनिक उडानहरू हुनेछन् । यद्यपि, नेपालका लागि दैनिक तीनवटा उडान भर्दै आएको यो एयरलाइन्सले काठमाडौँ सेक्टरको उडानबारे भने अझै कुनै स्पष्ट जानकारी दिएको छैन, जसका कारण सयौँ नेपाली यात्रुहरू अन्योलको भुमरीमा परेका छन् ।

कतार एयरवेजले एक आधिकारिक विज्ञप्ति जारी गर्दै हवाई क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको घोषणा नभएसम्म नियमित उडानहरू सुचारु गर्न नसकिने प्रष्ट पारेको छ । हालका लागि अलपत्र परेका यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन र परिवारसँग पुनर्मिलन गराउन ‘प्वाइन्ट–टु–प्वाइन्ट’ उडानको व्यवस्था गरिएको भए पनि नियमित उडानहरू अझै स्थगित नै रहने कम्पनीको भनाइ छ। एयरलाइन्सले विशेष परिस्थितिमा यात्रुहरूलाई धैर्य रहन आग्रह गर्दै टिकट पूर्ण रूपमा सुनिश्चित (कन्फर्म) नभएसम्म विमानस्थलमा भीडभाड नगर्न समेत कडा चेतावनी दिएको छ ।

युद्धको तनावले गर्दा हवाई मार्गमा परेको यो अवरोधले कतारलाई ट्रान्जिट बनाएर युरोप र अमेरिका जाने नेपालीका साथै वैदेशिक रोजगारीका लागि कतार जान ठिक्क परेका श्रमिकहरू सबैभन्दा बढी मर्कामा परेका छन् ।

नेपालमा धेरै उडान र यात्रु संख्या भएको प्रमुख एयरलाइन्स मध्येको एक भएकाले कतार एयरवेजको नेपाल उडान ठप्प हुँदा त्यसको प्रत्यक्ष असर नेपालको वैदेशिक रोजगार क्षेत्र र पर्यटनमा समेत देखिएको छ । सामान्य समयमा दैनिक १ हजारभन्दा बढी उडान गर्ने यस एयरलाइन्सले नेपालका लागि कहिलेदेखि उडान अनुमति पाउँछ भन्ने विषय अझै गम्भीर अन्योलमै छ ।

हवाई क्षेत्रको सुरक्षा सुनिश्चित भएपछि मात्र नियमित तालिका सुचारु हुने भए पनि, तत्कालका लागि नेपाली यात्रुहरूले वैकल्पिक मार्ग खोज्नुपर्ने वा उडान तालिका खुल्ने समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।


सम्बन्धित समाचार