२८ फाल्गुण, नेपाली आकाशमा झण्डै १६ वर्षसम्म निरन्तर सेवा दिएको बुद्ध एयरको एटीआर–७२ जहाज (कल साइन ९ एन–एजे) ले विश्व नागरिक उड्डयन इतिहासमै एउटा नयाँ कीर्तिमान कायम गर्दै औपचारिक विश्राम लिएको छ ।
जहाजको अधिकतम उडान क्षमता अर्थात् ७० हजार ‘साइकल’ (एक उडान र एक अवतरण) सफलतापूर्वक पूरा गरेपछि कुनै पनि एटीआर जहाजलाई यसरी पूर्ण आयु सञ्चालन गरेर बिदाइ गरिएको यो विश्वकै पहिलो घटना हो । सन् २०१० जुलाई २ देखि व्यावसायिक उडान सुरु गरेको यस विमानले ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौँसम्मको आफ्नो अन्तिम उडान भरेर १६ वर्षे गौरवमय यात्राको बिट मारेको छ ।
यस ऐतिहासिक क्षणमा आयोजित विशेष समारोहमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भावुक हुँदै यस जहाजले नेपालको हवाई यातायातलाई सुगम, किफायती र वातावरणमैत्री बनाउन खेलेको भूमिकाको स्मरण गर्नुभयो । उहाँका अनुसार यो जहाजले आफ्नो सेवा अवधिभर २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याएर कम्पनीको बजार विस्तार र विश्वसनीयतामा कोसेढुङ्गा सावित भएको छ । विमानको पूर्ण आयुसम्मको सुरक्षित सञ्चालनले बुद्ध एयरको मर्मत–सम्भार प्रणाली र प्राविधिक पक्ष कति सबल छ भन्ने कुरालाई विश्व मञ्चमा प्रमाणित गरिदिएको छ ।
बिदाइ कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका जेनरल म्यानेजर टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको अटल प्रतिबद्धताको प्रशंसा गर्दै उत्कृष्ट व्यवस्थापनकै कारण जहाजको पूर्ण क्षमता उपयोग सम्भव भएको बताउनुभयो । त्यस्तै, एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीले बुद्ध एयरको प्राविधिक कुशलताको तारिफ गर्दै योग्य हात र सही वातावरण पाउँदा एटीआर विमानले अन्तिम उडानसम्म सुरक्षित सेवा दिन सक्छ भन्ने उदाहरण प्रस्तुत भएकोमा खुसी व्यक्त गर्नुभयो ।
यसअघि एटीआर४२ लाई पनि बिदाइ गरिसकेको बुद्ध एयरले यो दोस्रो सफल बिदाइमार्फत अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालको प्रतिष्ठा थप उँचो बनाएको छ ।

















