२८ फाल्गुण, काठमाडौं । इरानले खाडी राष्ट्रहरू र जोर्डनमाथि गरिरहेको पछिल्लो शृङ्खलाबद्ध मिसाइल तथा ड्रोन आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले राष्ट्रसंघमा पेस गरेको निन्दा प्रस्तावलाई बहुमतले पारित गर्दै विश्व समुदायले इरानको यो कदमलाई ‘अवैध र अन्यायपूर्ण’ ठहर गरेको हो । राष्ट्रसंघको महासभामा भएको मतदानमा १ सय ३५ देशले यस प्रस्तावको पक्षमा उभिएर समर्थन जनाएका छन्, जसले इरानलाई अन्तर्राष्ट्रिय कूटनीतिक दबाबमा पारेको छ । प्रस्तावमा यूएई, खाडी सहकार्य परिषद् (जीसीसी) का सदस्य राष्ट्रहरू र जोर्डनको सार्वभौमिकतामाथि भएको प्रहार तत्काल रोक्न माग गरिएको छ ।
संयुक्त राष्ट्रसंघका लागि यूएईका स्थायी प्रतिनिधि मोहम्मद अबुशाहाबले सुरक्षा परिषद्को बैठकमा इरानले आफ्ना प्रमुख सहर र महत्त्वपूर्ण पूर्वाधारहरूलाई निशाना बनाएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । उहाँले यूएईले आफ्नो भूगोल वा आकाश कुनै पनि छिमेकीमाथि आक्रमणका लागि प्रयोग गर्न नदिने स्पष्ट प्रतिबद्धता जनाउँदाजनाउँदै पनि इरानले गरेको यो आक्रमण कुनै पनि दृष्टिकोणबाट न्यायपूर्ण नभएको बताउनुभयो । अबुशाहाबले इरानले खाडी समाजमा त्रास फैलाउने कुत्सित मनसाय राखेको आरोप लगाउँदै यो पीडादायी घडीमा आफ्ना नागरिकहरूले देखाएको धैर्य र एकताको उच्च प्रशंसा समेत गर्नुभयो ।
इरानको यस कदमले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेको भन्दै यूएईले अब आफ्नो भू–क्षेत्र, नागरिक र राष्ट्रिय सम्पत्तिको रक्षाका लागि आत्मरक्षाको अधिकार प्रयोग गर्ने चेतावनी दिएको छ । राष्ट्रसंघमा भएको यो निर्णयले मध्यपूर्वमा बढ्दो तनावलाई मत्थर पार्नुको साटो इरानविरुद्ध एक खालको अन्तर्राष्ट्रिय मोर्चाबन्दी तयार भएको संकेत गरेको छ ।
पछिल्लो समय इरान र खाडी राष्ट्रहरूबीच बढ्दै गएको यो सैन्य तनावले विश्व ऊर्जा बजार र क्षेत्रीय सुरक्षामा समेत गम्भीर धक्का पुग्ने देखिएकाले अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहेको छ ।

















