२८ फागुन,काठमाडौं । जिल्ला कारागार कार्यालय, चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै करिब १०० जना फर्किएको छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक रहेको जनाइएको छ।
भदौ २४ गते जेनजी आन्दोलनको समयमा भरतपुर कारागारबाट ४ जना नाबालकसहित ७४३ जना कैदीबन्दी फरार भएका थिए। कारागारका अनुसार, हालसम्म ६४३ जना कैदीबन्दी फर्किसकेका छन्। केही आफैं फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको हो।
कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले भने, “गम्भीर प्रकृतिका कैदीबन्दी फरार हुँदा समुदायमा आपराधिक घटना हुने जोखिम रहेको छ।”
कारागारले गत असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरेको थियो र तोकिएको समयसम्म सम्पर्कमा नआए कारागार ऐन २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको छ। साथै, फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कसुरदार ठानी कारबाही गरिनेछ।
हाल कारागारमा ३८ जना महिलासहित ६८५ जना कैदीबन्दी रहेका छन्।

















