Logo

२८ फाल्गुण, काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसियामा फैलिएको युद्धको डढेलोका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर सरकारले उच्च सतर्कता अपनाएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले फागुन १८ गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा हालसम्म ६५ हजार ८ सय ८६ नेपालीले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् । युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सही तथ्याङ्क सङ्कलन गरी उनीहरूको उद्धार तथा आवश्यक सहायताका लागि यो प्रणाली सुरु गरिएको हो, जसमा पश्चिम एसियाका विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूले समन्वय गरिरहेका छन् ।

विभागकी महानिर्देशक दुपर्दा सापकोटाका अनुसार दर्ता भएका विवरणहरूको गम्भीर अध्ययन गरी आवश्यकता अनुसार उद्धारको प्रक्रिया अगाडि बढाइएको छ । द्वन्द्व चर्किएपछि उत्पन्न हुन सक्ने मानवीय सङ्कटलाई ध्यानमा राख्दै परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको छ ।

बुधबार बसेको उक्त टिमको दोस्रो बैठकले पश्चिम एसियास्थित सबै नेपाली नियोगहरूलाई त्यहाँ रहेका नेपालीहरूसँग इमेल, फोन वा अन्य माध्यमबाट निरन्तर सम्पर्कमा रहन, उनीहरूको मनोबल उच्च राख्न र स्थलगत रिपोर्टिङ गर्न निर्देशन दिइसकेको छ । परराष्ट्र मन्त्रालयले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई अत्यन्त संयमित र सजग रहन अपिल गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यान दिन विशेष आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँको कानुन र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कुनै पनि किसिमका विवादित फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड नगर्न र सामाजिक सञ्जालमा आदानप्रदान नगर्न सचेत गराउनुभएको छ ।

युद्धको छायामा परेका हजारौँ नेपालीहरूको सुरक्षा सुनिश्चितताका लागि सरकारले कूटनीतिक च्यानल र स्थानीय निकायहरूसँग चौबीसै घण्टा समन्वय गरिरहेको मन्त्रालयको दाबी छ।


सम्बन्धित समाचार