२८ फाल्गुण, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र मालवाहक पानीजहाजमाथि भएका श्रृङ्खलाबद्ध आक्रमणका कारण विश्वव्यापी ऊर्जा बजारमा ठूलो हलचल पैदा भएको छ ।
बिहीबार एसियाली बजार खुल्नासाथ ब्रेन्ट कच्चा तेलको मूल्यले प्रतिब्यारेल १०० अमेरिकी डलरको मनोवैज्ञानिक सीमा नाघेको छ । इरान र अमेरिका–इजरायलबीचको द्वन्द्वले ऊर्जा ढुवानीको कण्ठ मानिने ‘हर्मुज स्ट्रेट’ लगभग ठप्प प्रायः भएपछि आपूर्ति शृङ्खला बिग्रिने डरले मूल्यमा यो उछाल आएको हो। इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगी राष्ट्रका जहाजहरूलाई निशाना बनाउने चेतावनी दिँदै तेलको मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएपछि लगानीकर्ता र उपभोक्ताहरूमा थप सन्त्रास छाएको छ ।
बजारमा देखिएको यो अनियन्त्रित मूल्य वृद्धिलाई मत्थर पार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने घोषणा गरेको छ । यद्यपि, विज्ञहरूले यस कदमलाई केवल ‘अस्थायी राहत’ को संज्ञा दिँदै आपूर्ति मार्गमाथिको सुरक्षा खतरा कायमै रहेसम्म मूल्य घट्ने सम्भावना न्यून रहेको विश्लेषण गरेका छन् । हर्मुज स्ट्रेट जस्तो महत्त्वपूर्ण जलमार्गमा देखिएको अवरोधले विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा प्रभावित हुने देखिएको छ, जसले गर्दा ऊर्जा संकटको बादल झन् मडारिएको छ ।
तेलको मूल्य वृद्धिको बाछिटा विश्वभरका सर्वसाधारणको भान्छा र यातायातमा देखिन थालिसकेको छ । अमेरिकामा पेट्रोलको मूल्यले नयाँ उचाइ लिएको छ भने फिलिपिन्स र थाइल्याण्ड जस्ता एसियाली मुलुकहरूमा इन्धन स्टेसनहरूमा सवारी साधनको किलोमिटर लामो लाइन लाग्न थालेको छ । ऊर्जा संकटको यो चपेटाबाट बच्न कतिपय देशहरूले सरकारी कामकाजको समय कटौती गर्ने, सार्वजनिक बिदा थप्ने र कर्मचारीहरूलाई घरबाटै काम (वर्क फ्रम होम) गराउने जस्ता आपतकालीन उपायहरू अवलम्बन गर्न सुरु गरेका छन् । यो महँगीले विश्व अर्थतन्त्रलाई नै मन्दीतर्फ धकेल्न सक्ने भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् ।

















