२८ फाल्गुण, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमितहरूलाई अस्पताल बाहिरका पसलबाट औषधि र स्वास्थ्य सामग्री खरिद गर्न लगाउने कार्य रोक्न सबै स्वास्थ्य संस्थाहरूलाई कडा निर्देशन जारी गरेको छ ।
बीमा प्याकेजभित्रै औषधि उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान हुँदाहुँदै पनि केही अस्पतालहरूले बिरामीलाई बाहिर पठाएर नगदमा औषधि किन्न बाध्य पारेको व्यापक गुनासो आएपछि बोर्डले यस्तो कदम चालेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सबै सूचीकृत अस्पतालहरूलाई परिपत्र जारी गर्दै बीमितलाई आर्थिक भार पर्ने गरी बाहिरबाट औषधिजन्य सामग्री खरिद गराउने प्रवृत्ति तत्काल बन्द गर्न सचेत गराइएको छ ।
बोर्डले यसरी नियम उल्लंघन गर्ने अस्पतालहरूलाई स्वास्थ्य बीमा ऐन र नियमावली २०७५ बमोजिम कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ। विशेष गरी बीमाको सेवा प्याकेजभित्रै समेटिएका औषधिहरू अस्पताल आफैँले उपलब्ध गराउनुपर्नेमा बाहिरका निजी पसलहरूमा पठाउनु प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको बोर्डको जिकिर छ ।
सूचना अधिकारी मल्लले स्वास्थ्य बीमा नियमावलीको नियम १८ को उपनियम (१) को खण्ड (क) अनुसार दोषी पाइएका स्वास्थ्य संस्थाहरूलाई कानुनी कठघरामा ल्याइने स्पष्ट पार्नुभएको छ । यसले सरकारी र निजी दुवै क्षेत्रका सूचीकृत अस्पतालहरूलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
हाल कार्यान्वयनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमले पाँच जनाको परिवारलाई वार्षिक ३ हजार ५०० रुपैयाँ योगदानको आधारमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्दै आएको छ । यदि परिवारमा ५ जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य ७०० रुपैयाँ थप गरेर २० हजारका दरले थप सुविधा पाइने व्यवस्था छ ।
नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न ल्याइएको यो कार्यक्रममा अस्पतालहरूको लापर्बाहीले बीमितहरू मर्कामा परिरहेको बेला बोर्डको यो निर्देशनले बिरामीहरूलाई केही राहत मिल्ने देखिएको छ ।

















