३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० भन्दा बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।
सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा गएको नेताहरूको टोलीले शनिबार सभापति थापासँग भेट गर्दै यस्तो आग्रह गरेको हो।
आफूहरूले मुलुक, संविधान र पार्टीमाथि विभिन्न चुनौती देखिएको वर्तमान अवस्थामा नेतृत्व परिवर्तन उपयुक्त नहुने भन्दै थापालाई राजीनामा नदिन आग्रह गरेको रसाइलीले बताए।
‘यस्तो बेलामा पार्टीलाई निकास दिन र १५ औँ महाधिवेशन सम्पन्न गर्न पनि तपाईंको नेतृत्व आवश्यक छ। त्यसैले राजीनामा नदिनुस् भन्यौं,’ रसाइलीले भने।
नेताहरूले निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको र मतदाताले कहिलेकाहीँ मन र मत परिवर्तन गर्नु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको बताएका छन्।
‘संसदीय व्यवस्थामा निर्वाचनमा हारजित भइरहन्छ। मतदाताले कहिलेकाहीँ झुक्केर पनि मन र मत परिवर्तन गर्न सक्छन्, त्यसलाई अन्यथा लिनु हुँदैन भनेर हामीले सभापतिज्यूलाई भनेका छौँ,’ रसाइलीले बताए।
सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजारसहित करिब तीन दर्जन केन्द्रीय सदस्यहरू पुगेका थिए।
२१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिकूल परिणाम आएपछि कांग्रेसभित्र सभापति थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन्। केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा थापाले पनि राजीनामा दिने मनस्थिति बनाएको संकेत दिएका थिए।
















