३० फागुन,वीरगञ्ज । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अबदेखि आफू कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट आठौँ पटक उम्मेदवार बनेर पराजित भएपछि उनले यस्तो घोषणा गरेका हुन्।
शनिबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा आयोजित नेपाली कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले अब आफू संसदीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे। उनले भने, “आजै म घोषणा गर्छु, अब म चुनाव लड्दिनँ। युवा पुस्तालाई मेरो साथ र समर्थन रहनेछ। तर चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा म सधैं सक्रिय रहनेछु।”
२०४८ सालयता हरेक संसदीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्दै आएका रिजालले चार पटक जीत र चार पटक हार व्यहोरेका छन्। उनी २०४८, २०५१, २०६४ र २०७९ सालको निर्वाचनमा सांसद निर्वाचित भएका थिए भने २०५६, २०७०, २०७४ र २०८२ फागुन २१ मा भएको निर्वाचनमा पराजित भएका थिए।
रिजालले पर्सा क्षेत्र नम्बर ४ को विकास, समृद्धि र जनताका समस्याको समाधानका लागि आफूले सक्दो पहल गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे। उनले निर्वाचनमा आफू र कांग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गर्दै परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कार्यकर्ता र समर्थकप्रति कुनै गुनासो नरहेको बताए। साथै उनले सबैलाई पुनः कांग्रेसमै फर्किन अपिल पनि गरे।
“जनता जनार्दन हुन्, जनमतको कदर गर्नुपर्छ,” उनले भने, “जनताको दुःख–सुखमा उभिने पार्टी भनेकै कांग्रेस हो। त्यसैले कांग्रेसलाई भरोसा गरेर घर फर्किन म आग्रह गर्छु।”
उनले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवक भएर काम गर्न सुझाव दिँदै भने, “मालिक बन्ने कोशिश नगर्नुहोस्, जनताको सेवक बनेर काम गर्नुहोस्। म तपाईंहरूको साथमै छु र रहन्छु।”
कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलामा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, नेता बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतको उपस्थिति रहेको थियो।
















