३० फागुन,विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतका आधारमा पार्टीले चार सिट पाएको हो।
निर्वाचन परिणामअनुसार पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको छ। उक्त मतका आधारमा चार जना सांसद पठाउने अवसर पाएपछि पार्टीभित्र केही समय आन्तरिक विवाद समेत देखिएको थियो।
पार्टीकी केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार विवादबीच अन्ततः चार जनाको नाम टुंगो लगाइएको हो। पार्टीले आदिवासी महिलातर्फ हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलातर्फ अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल तथा आदिवासी जनजातितर्फ पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
यसअघि समानुपातिक सूचीबाट कसलाई प्रतिनिधिसभामा पठाउने भन्ने विषयमा पार्टीभित्र तीव्र मतभेद देखिएको थियो। सोही विवादका कारण खस आर्यतर्फ पहिलो नम्बरमा रहेका जीवन विष्टले समानुपातिक बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए।
उनले सामाजिक सञ्जालमार्फत पदका लागि विवाद गर्नु उचित नभएको उल्लेख गर्दै पार्टी, अध्यक्ष हर्क साम्पाङ तथा मतदाताप्रतिको सम्मानका कारण आफूले नाम फिर्ता लिएको बताएका थिए।
उता पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पनि सामाजिक सञ्जालमार्फत समानुपातिक विषयमा अनावश्यक विवाद नगर्न चेतावनी दिएका थिए। उनले पार्टीभित्र रोइलो गर्नेहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएका थिए।
प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ। पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा प्रत्यक्षतर्फ विजय हासिल गरेको हो। समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाएर पार्टीले राष्ट्रिय दलको हैसियत कायम गरेको छ।
















