१ चैत्र, काठमाडौं । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै नयाँ सत्ता समीकरणको चर्चा चुलिएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार निर्माणका लागि अझै केही दिन कुर्नुपर्ने बताएको छ ।
पार्टी प्रवक्ता मनिष झाले आइतबार आयोजित सचिवालय बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नयाँ सरकार गठनको प्रक्रिया र मन्त्रिपरिषद् विस्तारका लागि करिब १० दिनको समय लाग्न सक्ने जानकारी दिनुभयो । निर्वाचन आयोगले समानुपातिक सांसदहरूको नामावली टुङ्ग्याएर प्रमाणपत्र वितरण गरेपछि मात्र सरकार गठनको औपचारिक प्रक्रियाले गति लिने उहाँको भनाइ छ ।
हाल सञ्चारमाध्यममा रास्वपाका तर्फबाट मन्त्री बन्ने भनी सार्वजनिक भएका नामहरूमा कुनै सत्यता नरहेको प्रवक्ता झाले प्रष्ट पार्नुभयो। उहाँका अनुसार पार्टीभित्र भावी मन्त्रिपरिषद् वा मन्त्रालयको बाँडफाँटका विषयमा अहिलेसम्म कुनै पनि औपचारिक संवाद भएको छैन । चुनावी नतिजापछि पार्टीको आन्तरिक व्यवस्थापन र संवैधानिक प्रक्रियाहरू पूरा गर्न बाँकी रहेकाले अहिले नै मन्त्रीहरूको टुङ्गो लागिनसकेको उहाँले दाबी गर्नुभयो । यद्यपि, नेताहरूबीच अनौपचारिक संवाद हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको आधिकारिक निर्णय मान्न नसकिने उहाँको तर्क छ ।
आफ्नो व्यक्तिगत आकांक्षाका बारेमा सोधिएको प्रश्नमा झाले आफू पुनः निर्वाचित भएर आएकाले राजनीतिक रूपमा केही अपेक्षा हुनु स्वाभाविक भए पनि कुनै निश्चित मन्त्रालयमा दाबी नरहेको स्पष्ट पार्नुभयो । चुनावी अभियानका क्रममा आफूलाई भावी सञ्चारमन्त्रीका रूपमा प्रस्तुत गरेका झाले अहिले भने मन्त्रालयको दाबीभन्दा पनि प्रक्रियागत कार्यहरू छिटो टुङ्गियोस् भन्ने पक्षमा रहेको बताउनुभयो ।
पार्टीले दिने जिम्मेवारी र राजकीय भूमिकाका विषयमा उपयुक्त समयमा मात्रै छलफल हुने भन्दै उहाँले अहिलेको प्राथमिकता निर्वाचनपछिको आधारभूत प्रक्रिया पूरा गर्नु रहेको उल्लेख गर्नुभयो ।

















