Logo

१ चैत,वीरगञ्ज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा उपभोक्ता हित संरक्षण, बजार अनुगमन र गुणस्तरीय वस्तु–सेवा उपलब्धताबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने मूल नाराका साथ आइतबार कार्यक्रम सम्पन्न भएको हो।

उद्योग विभाग वीरगञ्ज, पर्साको आयोजनामा तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, पर्साको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र अध्यक्ष उद्योग विभागका महानिर्देशक सुशील कुमार साह थिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, उद्योग वाणिज्य संघ, सरोकारवाला निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागीहरूले उपभोक्ताको अधिकार संरक्षण, बजार अनियमितता नियन्त्रण तथा गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउने विषयमा धारणा व्यक्त गरे। वक्ताहरूले राज्य, व्यवसायी र उपभोक्ताले सबै मिलेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका तथा गुणस्तरहीन वस्तु बिक्री वितरण रोक्न प्रभावकारी बजार अनुगमन आवश्यक भएको बताए।

साथै, उपभोक्ताले वस्तु खरिद गर्दा उत्पादन मिति, म्याद समाप्ति मिति, मूल्य सूची र गुणस्तरसम्बन्धी जानकारी जाँच गर्नुपर्नेमा जोड दिइयो। कार्यक्रममा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्था, बजार अनुगमनको अवस्था, सेवा–सुविधा तथा गुनासो व्यवस्थापनबारे पनि जानकारी गराइएको थियो।

हरेक वर्ष मार्च १५ मा विश्वभर मनाइने विश्व उपभोक्ता अधिकार दिवस उपभोक्ताको सुरक्षा, अधिकार र हित संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको छ।
कार्यक्रम सन्चालन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साका निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाले गर्नु भएको थियो।


सम्बन्धित समाचार