२ चैत्र, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
हालै सम्पन्न निर्वाचनमा सोचेअनुरूप परिणाम नआएपछि उनले पदको राजनीतिबाट टाढा रहने निर्णय सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राउतले आफू संसदीय अभ्यासबाट अलग भए पनि जनताको अधिकार र पहिचानका लागि गरिने ‘संघर्षको राजनीति’ मा भने निरन्तर सक्रिय रहने स्पष्ट पारेका छन् । उनले आफू राजनीतिबाट गायब नहुने बरु पार्टीलाई नयाँ उचाइमा पुर्याउन र आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि संगठन सुदृढीकरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पछिल्लो निर्वाचन परिणाम जनमत पार्टीका लागि निकै चुनौतीपूर्ण देखिएको छ । २०७९ सालको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएको र प्रत्यक्षतर्फ राउत आफैँले जित हासिल गरेको भए पनि २०८२ फागुनको निर्वाचनमा पार्टीले एक सिट पनि सुरक्षित गर्न सकेन । सप्तरी क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिएका राउत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादवसँग पराजित भए भने प्रत्यक्षतर्फका अन्य उम्मेदवार र समानुपातिकतर्फ समेत पार्टीले थ्रेसहोल्ड कटाउन सकेन । चुनावी पराजयको यसै पृष्ठभूमिमा राउतले संसदीय भूमिकाभन्दा बाहिर रहेर जनताको सेवा गर्ने बाटो रोजेका हुन् ।
आफ्नो राजनीतिक यात्राका बारेमा खुलासा गर्दै अध्यक्ष राउतले आफू व्यक्तिगत इच्छाले नभई परिस्थितिको बाध्यताले पार्टी नेतृत्व र संसदीय निर्वाचनमा होमिएको दाबी गरेका छन् । सरकारले काम गर्ने वातावरण नदिएपछि पार्टी खोल्नुपरेको उल्लेख गर्दै उनले सुरुमा नरेन्द्र प्रसाद चौधरी लगायतका नेताहरूलाई अध्यक्ष बन्न आग्रह गरेको तर कसैले नमानेपछि आफैँले जिम्मेवारी सम्हाल्नुपरेको बताएका छन् ।
पदको राजनीतिबाट विश्राम लिए पनि आफ्ना सिद्धान्त र एजेण्डाहरूलाई जीवित राख्दै हरेक मोर्चा र संघर्षमा जनताको साथमै रहने उनले अठोट गरेका छन् ।

















