Logo

२ चैत्र, काठमाडौं । जनमत पार्टीले आफ्नो आगामी महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्दै ६ महिना पछि सारेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले यसअघि आगामी चैत २० र २१ गतेका लागि तय गरिएको महाधिवेशनलाई सारेर २०८३ साल असोज ९ र १० गते गर्ने निर्णय गरेको हो । पार्टीका महासचिव चन्दन सिंहले एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे औपचारिक जानकारी दिएका हुन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त परिणामको गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता देखिएकाले पार्टीले महाधिवेशनको मिति पछाडि सारेको बुझिएको छ । बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको विस्तृत समीक्षा गर्न मातहतका निकायलाई निर्देशन समेत दिएको छ ।

यसका लागि आगामी चैत ७ गते शनिबारसम्म क्षेत्रीय स्तरका समीक्षा बैठकहरू सम्पन्न गरी लिखित प्रतिवेदन केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने समयसीमा तोकिएको छ ।

निर्वाचनपछिको सांगठनिक पुनर्संरचनालाई तीव्रता दिन जनमत पार्टीले सबै जिल्लाहरूमा तदर्थ जिल्ला पदाधिकारी चयन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ । जिल्ला समन्वय समितिका सदस्यहरूमध्येबाट बढीमा ७ जना रहने गरी तदर्थ समिति बनाउन आगामी चैत १४ गतेभित्र भौतिक बैठक अनिवार्य गरिएको छ।

केन्द्रीय सचिवालयले खटाएका प्रतिनिधिको रोहबरमा यस्ता पदाधिकारीहरू चयन गरिनेछन्, जसले पार्टीलाई आगामी महाधिवेशन र स्थानीय तहको निर्वाचनका लागि तयार पार्ने जिम्मेवारी पाउनेछन् ।


सम्बन्धित समाचार