Logo

५ चैत्र, काठमाडौँ । नेपाली सिने जगत्का महानायक राजेश हमालको नाम र तस्बिर दुरुपयोग गरी अछामको ढकारी गाउँपालिकामा लाखौँ रुपैयाँ भ्रष्टाचार भएको सनसनीपूर्ण तथ्य बाहिरिएको छ ।

हमालको जीवन वा व्यक्तित्वमा आधारित वृत्तचित्र (डकुमेन्ट्री) बनाउने बहानामा झण्डै १३ लाख रुपैयाँ सरकारी ढुकुटी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आर.जे.ट्वान्टी फोर न्युजका अध्यक्ष रामजी लम्साललाई प्रतिवादी बनाउँदै अख्तियारले १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो दाबी गरेको छ ।

अनुसन्धानका क्रममा महानायक हमालको नाम जोडेर १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि उक्त कार्यमा सार्वजनिक खरिद ऐनको धज्जी उडाइएको पाइएको छ। बिना कुनै प्रतिस्पर्धा र कानुनी प्रक्रिया मिचेर सोझै सम्झौता गरिएको र काम नै सुरु नगरी बैंक ग्यारेन्टीसमेत नलिई ३५ प्रतिशतसम्म पेस्की रकम भुक्तानी दिएको अख्तियारको ठहर छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चलचित्र निर्माणका लागि पेस गरिएका बिलहरू नै नक्कली र शङ्कास्पद देखिएका छन्, जसले योजनाबद्ध रूपमा मिलेमतोमा भ्रष्टाचार गरिएको पुष्टि गर्छ ।

गाउँपालिका अध्यक्ष साउदले आफ्नो पदको प्रभाव प्रयोग गरी व्यक्तिगत लाभका लागि सरकारी बजेट दुरुपयोग गरेको भन्दै अख्तियारले उनलाई थप कडा सजायको माग गरेको छ । महानायक जस्तो सम्मानित व्यक्तित्वको नाम मुछेर गरिएको यो ‘डिजाइनर’ भ्रष्टाचारले स्थानीय तहमा हुने बजेट दुरुपयोगको नयाँ र कुरुप रूप उदाङ्गो पारेको छ ।

अख्तियारले सबै प्रतिवादीहरूबाट हिनामिना भएको रकम असुलउपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कैद र जरिवानाको माग दाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ ।


सम्बन्धित समाचार