Logo

५ चैत्र, काठमाडौँ । लामो समयको सुस्ततापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार एकाएक उत्साहको सुनामी आएको छ ।

नयाँ सरकार गठनको रसाकसी र राजनीतिक स्थिरताको आशाका बीच लगानीकर्ताको मनोबल उच्च हुँदा नेप्से परिसूचक ६४ दशमलव ६९ अंकले छलाङ मार्दै २८७७ विन्दुमा पुगेर अडिएको छ ।

बजार खुलेको सुरुवाती क्षणदेखि नै उकालो लागेको वृद्धिको ग्राफ कारोबार बन्द हुँदासम्म जारी रह्यो, जसले पुँजी बजारमा खरिदकर्ताको निकै बलियो चाप रहेको संकेत गरेको छ। बिहीबारको यो हरियालीले माघ १८ पछिकै विशेष रौनक बजारमा फर्काएको लगानीकर्ताहरूले महसुस गरेका छन् ।

परिसूचकसँगै कारोबार रकममा आएको अभूतपूर्व उछालले झनै सकारात्मक सन्देश दिएको छ । अघिल्लो दिन करिब १२ अर्बमा खुम्चिएको कारोबार रकम बिहीबार झन्डै शतप्रतिशतले बढेर २१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो फागुन २६ गतेपछिकै उच्च कारोबार हो भने साउन ३१ को ऐतिहासिक रेकर्ड (२९ अर्ब ९५ करोड) तर्फ बजार पुनः अघि बढ्न खोजेको आभास दिलाएको छ ।

विशेषगरी विकास बैंक समूहमा देखिएको ३ दशमलव ९५ प्रतिशतको बढोत्तरी र बैंकिङ समूहमा आएको ३ दशमलव १६ प्रतिशतको सुधारले बजारमा ठूला र संस्थागत लगानीकर्ताहरूको आक्रामक प्रवेश भएको पुष्टि गर्दछ ।

बिहीबारको बजारमा २४० कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीमा त १० प्रतिशतको ‘सकारात्मक सर्किट’ नै लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स लगायतका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने एनआईसी एसिया र सिटिजन्स जस्ता वाणिज्य बैंकहरूमा पनि आकर्षण देखिएको छ ।

वित्तीय प्रणालीमा तरलता सहज हुँदै जानु र राजनीतिक वृत्तमा देखिएको नयाँपनले सेयर बजारलाई इन्धनको काम गरेको विश्लेषकहरूको ठहर छ । ङादी ग्रुप र माथिल्लो तामाकोशी जस्ता ठूला हाइड्रोपावरमा भएको उच्च कारोबारले बजार अबको केही दिन अझै सकारात्मक दिशामा रहने संकेत गरेको छ ।


सम्बन्धित समाचार