Logo

५ चैत,काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप कागजात झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले लामिछानेको मुद्दा फिर्ताविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई आवश्यक कागजात पेश गर्न निर्देशन दिएको हो।

इजलासले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीको लिखित जवाफमा उल्लेख गरिएको अभियोगपत्र संशोधनसम्बन्धी ‘त्रुटि सच्याइएको’ भनिएको माघ २ गतेको टिप्पणी आदेशको प्रतिलिपि पेश नभएको भन्दै उक्त कागजात झिकाउन भनेको छ।

साथै, सो टिप्पणी आदेशसँग सम्बन्धित अन्य प्रमाणहरू समेत संकलन गरी यसअघि माघ २७ गते जारी आदेशअनुसार मुद्दाको थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।

सर्वोच्च अदालतले उक्त मुद्दा तथा सम्बन्धित अन्य मुद्दाहरूलाई सँगै राखी आगामी चैत ९ गते हेर्न नमिल्ने न्यायाधीशबाहेकको इजलाससमक्ष पेश गर्न पनि आदेश दिएको छ।


सम्बन्धित समाचार