६ चैत,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरण प्रक्रियाबाट छुटेका व्यक्तिहरूका लागि अन्तिम अवसर प्रदान गरेको छ।
शुक्रबार जारी सूचनाअनुसार आगामी चैत २० गते अन्तिम पटक घाइतेहरूको वर्गीकरण गरिनेछ। प्रशासनले विभिन्न कारणले अघिल्ला चरणमा सहभागी हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो प्रक्रिया अघि बढाइएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, उक्त दिन दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित भई वर्गीकरण प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।
वर्गीकरणका लागि उपस्थित हुँदा उपचार तथा स्वास्थ्य परीक्षणसँग सम्बन्धित सक्कल कागजात र जेनजी घाइते परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ। साथै, सम्बन्धित घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनका अनुसार ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि नै अधिकांश घाइतेहरूको वर्गीकरण सम्पन्न गरिसकेको छ। मंसिर ५, मंसिर १२ र माघ १८ गते भएका चरणहरूमा धेरैजसो घाइतेको वर्गीकरण टुंग्याइएको कार्यालयले जनाएको छ।
यसपटकको प्रक्रिया अन्तिम भएकाले छुटेका सबै घाइतेलाई अनिवार्य रूपमा सहभागी हुन प्रशासनले अनुरोध गरेको छ।


















