Logo

६ चैत,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाकी हसिना खातुनको शंकास्पद मृत्यु प्रकरणमा न्यायको माग गर्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका छन्।

आफन्त तथा अधिकारकर्मीहरूको सहभागितामा माइती पक्षले गरेको प्रदर्शनमा दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरिएको छ। प्रदर्शनकारीहरूले ‘हत्या गर्नेहरूलाई कारबाही गर’ र ‘पीडितलाई न्याय दे’ जस्ता नाराबाजी गरेका थिए।

हसिना खातुन गत फागुन १३ गते आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि घर पक्षले आत्महत्या भएको दाबी गर्दै आएको छ भने माइती पक्षले दाइजोको विवाद र पारिवारिक तनावका कारण हत्या गरिएको आरोप लगाएको छ।

प्रदर्शनमा सहभागी मृतककी भाउजु लिखत प्रविणले हसिनाको हत्या उनका श्रीमान शहनवाज शेष (मुन्ना), सासु र ननदको मिलेमतोमा भएको दाबी गरिन्। उनका अनुसार दाइजोको नाममा पटक–पटक दबाब दिने र मानसिक यातना दिने गरिएको थियो।

‘श्रीमानको अन्य महिलासँग सम्बन्धका कारण अर्को विवाह गर्ने योजनामा उनलाई मारिएको हो,’ उनले सञ्चारकर्मीसँग भनिन्। उनले करिब दुई वर्षअघि ८ लाख रुपैयाँ खर्च गरेर हसिनाको विवाह गरिएको र त्यसपछि पनि थप रकमको माग जारी रहेको आरोप लगाइन्।

यसैबीच प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै मृतकका श्रीमान शहनवाज शेषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। पीडित पक्षले भने सासु र ननदलाई समेत तत्काल पक्राउ गर्न माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बमका अनुसार सबै पक्षको बयान, प्रमाण संकलन तथा पोस्टमार्टम रिपोर्टको अध्ययनपछि घटनाको निष्कर्ष निकालिनेछ।


सम्बन्धित समाचार