६ चैत,वीरगञ्ज । उपकार सेवा नेपाल र क्विन ज्वेलर्सको समन्वयमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका–११ मा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर सहयोग प्रदान गरिएको छ।
घरमै पुगेर सहयोग गरिएको ५५ वर्षिय लालबाबु नेपाली मिर्ली चौक बस्ने हुन्। शारीरिक अस्वस्थताका कारण उनी दुई वर्षदेखि ओच्छयानमै बस्न बाध्य थिए र हिड डुल गर्न असमर्थ थिए। उनको कठिन अवस्था बुझेर संस्थाका अध्यक्षले सो घरमै पुगेर व्हीलचेयर हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालका अध्यक्ष बिध्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी अमर सर्राफ, प्रज्वलमान डङ्गोल, दिप्पु बर्णवाल, सम्बन्धित वार्ड अध्यक्ष अजय चौरासिया र स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
संस्थाले यसअघि पनि विभिन्न दूरदराजका गाउँठाउँमा पुगेर असहाय र अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्दै आएको छ। यस पहलले समाजमा सहयोग र मानवताको महत्त्व झल्काउने उदाहरण प्रस्तुत गरेको छ।

















