६ चैत,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा एक महिलामाथि उनका आफ्नै पतिले अमानवीय हिंसा गरेको घटना सार्वजनिक भएको छ। पर्सागढी नगरपालिका–३ बिरुवा टोल निवासी करिब ३० वर्षीय विशनाथ सहनीले चैत १ गते आफ्नी पत्नी हरिकलादेवी सहनीमाथि धारिलो हतियार ‘दाउ’ प्रयोग गरी गम्भीर आक्रमण गरेको आरोप लागेको हो।
आरोप अनुसार सहनीले हरिकलादेवीको बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग काटिदिएका छन्, जसका कारण उनी गम्भीर घाइते भएकी छन्। हाल उनको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना भएको चार दिन बितिसक्दा पनि आरोपित सहनी अझै फरार रहेका छन्। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार अभियुक्त जंगलतर्फ फरार भएको सूचनाका आधारमा खोजी कार्य तीव्र पारिएको छ। “अभियुक्तको खोजी जारी छ, छिट्टै पक्राउ गर्ने प्रयास भइरहेको छ,” उनले बताए।
यसैबीच, पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानुले घाइते हरिकलादेवीको उपचार खर्च बेहोर्ने प्रतिबद्धता जनाएका छन्। उनले पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारसँगै कुरुवाको खर्चसमेत व्यवस्थापन गरिने बताएका छन्।
सांसद कानुले दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनसँग आग्रह गर्दै पीडितलाई न्याय दिलाउनुपर्नेमा जोड दिएका छन्।
घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ भने दोषीलाई कडा कारबाही गर्नुपर्ने माग उठिरहेको छ।

















