Logo

६ चैत,काठमाडौं । नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मूल्यांकन गर्दै मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदरको संख्या बढेको निष्कर्ष निकालेको छ।

शुक्रबार काठमाडौंमा निर्वाचन पर्यवेक्षणका निष्कर्ष सार्वजनिक गर्दै नागरिक समाजले मतदाता शिक्षा सामग्री वितरण र पहुँचमा क्षेत्रगत असमानता देखिएको जानकारी दिएको छ। यसको असर मतदाताको निर्णय क्षमतामा परेको र त्यसैकारण मत बदरको संख्या बढेको भएको बताइएको छ।

गैरसरकारी संस्था महासंघ, नेपाल र नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुन कुमार भट्टराईले मतदाता नामावलीमा त्रुटि, मतदान केन्द्रको ३०० मिटर परिधिभित्र प्रचार सामग्री नहटाइएको अवस्था समेत पाइएको जानकारी दिए।

उनले निर्वाचन खर्चको पारदर्शिता र वैध स्रोतको अध्ययन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्। साथै, निर्वाचन सुरक्षा थप प्रभावकारी बनाउन सुरक्षा निकायबीच समन्वय सुदृढ गर्न र बढ्दो खर्च घटाउनेतर्फ पहल गर्नुपर्नेमा पनि जोड दिएका छन्।

नागरिक समाजले निर्वाचन सम्बन्धी कानुन र ऐनहरू संशोधन गरी अन्तरजिल्ला र विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान सुनिश्चित हुने व्यवस्था गर्न सुझाव दिएको छ। तथापि, विभिन्न चुनौतीका बाबजुद सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गरेर आफ्नो दायित्व जिम्मेवारीपूर्ण रूपमा पूरा गरेको निष्कर्ष पनि निकालेको छ।


सम्बन्धित समाचार