६ चैत,काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन्।
इरान–यूएई–अमेरिकाबीचको तनावपूर्ण परिस्थितिमा, इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण जारी राखेपछि खसेका मिसाइल र ड्रोनका फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने नेपाली नागरिकहरूलाई यूएई प्रहरीले पक्राउ गरेको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तीन नेपाली यूएईमा, तीन साउदी अरबमा र एक कुवेतमा पक्राउ परेका जानकारी दिएका छन्। मन्त्रालयले फोटो तथा भिडियो खिच्न र सामाजिक सञ्जालमा पोस्ट नगर्न लगातार अनुरोध गर्दै आएको छ।
यूएईको महान्यायाधिवक्ता कार्यालयले सरकारका निर्देशनको अवज्ञा गरेको पाइएपछि पक्राउ गरी अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो। पक्राउ परेकाहरू माथि अनुसन्धान हुँदैछ, र दोषी ठहरिएमा उनीहरूलाई एक वर्षसम्म कैद र जरिवाना, साथै कैद भुक्तानपछि डिपोर्ट गरिने प्रावधान छ।

















