६ चैत,काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत हालसम्म मध्यपूर्वबाट ८२ हजार १ सय नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्री ले जानकारी दिँदै भने, “अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजारले सुरुमा आफू असुरक्षित भएको जानकारी दिएका थिए। तर पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको देखिन्छ।”
क्षेत्रीका अनुसार, इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको छ। प्रारम्भमा अधिकांशले सुरक्षा सम्बन्धी जानकारी मागेका थिए भने पछिल्लो समयमा श्रम स्वीकृतिको विषयमा जानकारी लिन सम्पर्क बढी भएको छ।
प्रवक्ता क्षेत्रीले थप जानकारी दिँदै भने, “हाम्रो दस वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको छ। हाल कुनै पनि नेपाली नागरिक विदेशको ट्रान्जिटमा छैन। जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेका छन्।”
क्षेत्रीले सरकार मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षामा गम्भीर रहेको र आवश्यक परेको खण्डमा उद्धारका लागि पनि तयार रहेको बताए।

















