६ चैत,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा तीव्र हावाहुरी चलिरहेको र अझै बलियो हुनसक्ने चेतावनी दिएको छ। शुक्रबार अपराह्न करिब पौने ५ बजे सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
प्राधिकरणका अनुसार हावाहुरीका कारण सडक किनारका रुखहरू ढल्न सक्ने, बिजुली तथा टेलिफोनका पोलहरू भाँचिन सक्ने, विद्युत् तारहरू चुँडिन सक्ने तथा जस्तापाताले बनेका छानाहरू उड्न सक्ने जोखिम रहेको छ। यस्ता सम्भावित घटनाले जनधनको क्षति निम्त्याउन सक्ने भएकाले अनावश्यक रूपमा बाहिर ननिस्कन र सुरक्षित स्थानमै बस्न अनुरोध गरिएको छ।
विशेषगरी विद्यालय बस छुट्ने समय परेकाले विद्यार्थीहरू र अभिभावकहरूलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ। बालबालिकालाई सुरक्षित रूपमा घर पुर्याउने व्यवस्था मिलाउन र जोखिमपूर्ण स्थानबाट टाढा राख्न पनि प्राधिकरणले ध्यानाकर्षण गराएको छ।
प्राधिकरणले सम्भावित क्षतिबाट जोगिन पूर्वतयारी गर्न, खुला स्थानमा नबस्न र मौसम सामान्य नहुन्जेल सुरक्षित आश्रयमै रहन सबैमा अपिल गरेको छ।

















